समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार र अस्पताल सञ्चालनका चुनौतीबारे छलफल
काठमाडौं, असोज ३ । स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहरलाल प्रधानले सामुदायिक स्वास्थ्य सेवा परिषद्, डल्लु आवास, स्वयम्भूको आज निरीक्षण भ्रमण गर्नुभएको छ।

समुदायमा आधारित स्वास्थ्य सेवाको अवस्था, परिषद्बाट सञ्चालन हुँदै आएका विभिन्न स्वास्थ्य कार्यक्रम तथा अस्पतालका सेवा प्रवाहबारे जानकारी लिन उहाँले परिषद्को निरीक्षण भ्रमण गर्नुभएको हो।
निरीक्षणका क्रममा परिषद्का मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक डा. बुलन्द थापाले परिषद्बाट सञ्चालन हुँदै आएका स्वास्थ्य सेवा, स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय सेवा, प्रयोगशाला तथा अन्य स्वास्थ्यसम्बन्धी गतिविधिका बारेमा प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानलाई विस्तृत जानकारी गराउनुभएको थियो।
त्यसैगरी, परिषद्का कार्यसमिति सदस्य मोहनकृष्ण श्रेष्ठले परिषद्ले स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गर्दै आएका स्वास्थ्यसम्बन्धी कार्यक्रम, सेवा विस्तारका प्रयास तथा संस्थाले भोग्दै आएका विभिन्न व्यावहारिक समस्या र चुनौतीबारे जानकारी गराउनुभएको थियो।


विशेषगरी समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा पुर्याउने उद्देश्यले परिषद्ले सञ्चालन गर्दै आएका गतिविधि, स्वास्थ्य सेवाको मागअनुसार सेवा विस्तार गर्नुपर्ने आवश्यकता, जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरण तथा पूर्वाधारको आवश्यकता र अस्पताल सञ्चालनका क्रममा देखिएका विभिन्न चुनौतीका विषयमा छलफल भएको थियो।
निरीक्षण कार्यक्रममा स्थानीय बासिन्दाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। स्थानीय नागरिकहरूले समुदायमै सहज, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनु आवश्यक रहेको बताउँदै परिषद्बाट प्रदान भइरहेको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायको सहयोग र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं जिल्ला सभापति राजा शाक्यले पनि आफ्नो धारणा राख्नुभएको थियो। उहाँले समुदायको प्रत्यक्ष सहभागितामा सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय तथा सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा परिषद्का पदाधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मी, कार्यसमिति सदस्य, स्थानीय बासिन्दालगायतको सहभागिता रहेको थियो।
निरीक्षणका क्रममा प्रमुख विज्ञ सल्लाहकार डा. मनोहरलाल प्रधानले परिषद्बाट समुदायका लागि प्रदान हुँदै आएको स्वास्थ्य सेवाका गतिविधिबारे जानकारी लिनुका साथै संस्थाका आवश्यकता, समस्या र आगामी योजनाका विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो। उहाँको भ्रमणलाई परिषद्ले समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार र संस्थागत विकासका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।


सामुदायिक स्वास्थ्य सेवा परिषद्ले लामो समयदेखि स्थानीय समुदायलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। सीमित स्रोत–साधनका बीच पनि परिषद्ले विभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवाहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा स्वास्थ्य सेवाको पहुँच थप विस्तार गर्ने लक्ष्य लिएको परिषद्का पदाधिकारीहरूले बताएका छन्।
परिषद्का अनुसार समुदायको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवा विस्तार, आधुनिक स्वास्थ्य उपकरणको व्यवस्था, आवश्यक जनशक्ति व्यवस्थापन तथा सेवाको गुणस्तर अभिवृद्धिका लागि सम्बन्धित निकाय, स्थानीय समुदाय तथा विभिन्न सामाजिक संघ–संस्थासँग सहकार्यलाई निरन्तरता दिइनेछ।
कार्यक्रमको सञ्चालन परिषद्का महासचिव दीपकचन्द्र गौतमले गर्नुभएको थियो भने अध्यक्षता परिषद्का अध्यक्ष केसरबहादुर मानन्धरले गर्नुभएको थियो।
परिषद्ले आगामी दिनमा पनि स्थानीय समुदायको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्दै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरी स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



