राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं समितिद्वारा रसुवा–भोटेकोशी बाढी पीडितको सम्झनामा बौद्धनाथमा दीप प्रज्ज्वलन

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा ज्यान गुमाएका नागरिकको सम्झनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला समितिले बौद्धनाथ परिसरमा दीप प्रज्ज्वलन गरेको छ।

बाढी तथा विपद्मा परी दिवंगत भएकाहरूको आत्माको चीरशान्ति र सुगतिको कामना गर्दै आयोजित कार्यक्रममा सहभागीहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रमको सुरुवात दिवंगतप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो।’

सौजन्य: चित्त्रकथा

दीपदानसँगै बाढीबाट घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभ तथा विपद्बाट प्रभावित नागरिकहरूको सुरक्षा र स्वास्थ्यका लागि समेत कामना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्य, काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डे, क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुनिल के.सी. तथा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्र बज्राचार्यलगायत सहभागी थिए।

रास्वपाका नेता तथा कार्यकर्तासहित स्थानीय बासिन्दा र सर्वसाधारणको पनि कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो।

सौजन्य: चित्त्रकथा

विपद्का कारण प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दिवंगतप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपा काठमाडौं जिल्ला समितिले जनाएको छ। कार्यक्रम काठमाडौं जिल्ला समितिको आयोजनामा तथा काठमाडौं क्षेत्र नं. ३ को संयोजनमा सम्पन्न भएको हो।