संविधान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी बुढानीलकण्ठ नगरपालिका–१० वडा समितिको आयोजनामा बुढानिलकण्ठ वडा नं. १०, वालुवाखानी चाेकमा रक्तदान तथा ज्येष्ठ नागरिक औषधि वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गर्दै मानवीय सेवामा योगदान पुर्‍याएका छन् भने ६० भन्दा बढी ज्येष्ठ नागरिकलाई आवश्यक औषधि वितरण गरिएको छ।


कार्यक्रममा स्थानीय नागरिक, ज्येष्ठ नागरिक, पार्टीका सदस्य, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय एवं भव्य उपस्थिति रहेको थियो। सहभागी रक्तदाताहरूलाई उपस्थिति तथा सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि माननीय प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्य पुकार बम, विशेष अतिथि बागमती प्रदेश सभापति उत्सव अर्याल तथा अतिथि काठमाडौं जिल्ला सभापति राजा शाक्य लगायत काठमाडौं क्षेत्र नं ४ को क्षेत्रीय समिति तथा बुढानिलकण्ठ नगर समितिका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजना तथा संयोजन बुढानीलकण्ठ–१० का कार्यवाहक सभापति शेषकान्त पोखरेलले गर्नुभएको थियो।
रक्तदानसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा गरिएको सहयोगले संविधान दिवसलाई मानवीय सेवा, सामाजिक उत्तरदायित्व र नागरिक सहभागितासँग जोड्ने सार्थक अवसर बनाएको छ।