राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापति राजा शाक्यले रौतहटमा पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्। छोटो समयको रौतहट बसाइका क्रममा शाक्यले जिल्लाको समग्र अवस्था, स्थानीय समस्या तथा आगामी दिनमा पार्टीलाई थप सबल, सशक्त र व्यवस्थित रूपमा अघि बढाउने विषयमा रास्वपाका साथीहरूसँग विचार–विमर्श गरेका हुन्।
छलफलमा रौतहटका जिल्ला, क्षेत्र, पालिका तथा वडा तहमा सक्रिय रास्वपाका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। शाक्यले स्थानीय तहमा संगठनलाई थप मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष रूपमा जोडिने, स्थानीय आवश्यकताका विषयलाई प्राथमिकताका साथ उठाउने तथा पार्टीको गतिविधिलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए। स्थानीयस्तरका कार्यकर्तासँगको प्रत्यक्ष संवादले संगठनको अवस्था र आगामी कार्यदिशाबारे थप स्पष्टता प्राप्त भएको बताइएको छ।

रौतहट बसाइका क्रममा शाक्यले स्थानीय बासिन्दासँग कृषि, सिँचाइ, सामाजिक तथा सांस्कृतिक विषयमा समेत महत्वपूर्ण जानकारी लिएका थिए। स्थानीयका समस्या, अनुभव र सम्भावनाबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले स्थानीयस्तरका यस्ता विषयलाई गम्भीरतापूर्वक बुझेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
रौतहटमा भएको भेटघाटले रास्वपाको स्थानीय संगठन र नेतृत्वबीचको समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। स्थानीय नेता तथा कार्यकर्तासँगको संवादले पार्टीलाई जनतासँग अझ नजिक पुर्याउँदै आगामी दिनमा थप सशक्त रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। सो अवसरमा राजा शाक्यले रौतहटका स्थानीय बासिन्दा तथा रास्वपाका जिल्ला, क्षेत्र, पालिका र वडा तहका सम्पूर्ण साथीहरूले दिएको साथ, सहयोग र आतिथ्यताप्रति धन्यवाद व्यक्त गरेका छन्।



